अदालतको अवहेलनामा पत्रकारद्वय जेल चलान

काठमाडौं ।  सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना अदालतको अवहेलनामा कारागार चलान भएका छन्। सर्वोच्च अदालतले तीन-तीन महिना कैद सजाय सुनाएपछि दुवै जना केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका हुन्।

कारागार चलान भएपछि ढुंगानाले फेसबुकमा लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतकाे फैसलालाई सम्मान गर्दै म र मेराे प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्ताेता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छाैँ। प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्न आउनेछाैँ। हामी समाचार लेख्न नै जन्मिएका हाैँ। समाचारकाे धर्मबाट कहिल्यै विचलित हुने छैनौँ।’

सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ। कँडेल र ढुंगानालाई ३ महिना कैद सजाय सुनाएको छ। यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्नेछ।

सिधाकुरा डटकमले ५ हजार रूपैयाँ तिर्नुपर्ने गरी जरिवाना पनि तोकिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते सुनुवाइ भएको थियो।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर