पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन्

काठमाडौं ।  श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त नजिताअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायकले ३१.४ प्रतिशत मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन् । त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादासाले २६.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १३.८ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

पहिलो प्राथमिकताको मत गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि अब दोस्रो प्राथमिकताको मत गणना हुने भएको छ । डेली मिररका अनुसार श्रीलंकाको निर्वाचन आयोगले दोस्रो प्राथमिकताको मत गणना गर्न निर्देशन दिएको उल्लेख गरेको छ ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । श्रीलंकामा मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ ।  पहिलो प्राथमिकताको उम्मेदवारको सुरुमा मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ । तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवारमध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका थिए । देशभरका १३ हजार १३४ मतदान केन्द्रमा शनिबार मतदान भएको निर्वाचन आयोगले जनाएको छ । श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ बर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर