साकुरा बहुउद्देश्यीय सहकारीको नवौं साधारणसभा सम्पन्न

भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायकको नवौं साधारणसभा शनिबार सम्पन्न भएको छ । सूर्यविनायकस्थित संस्थाको कार्यालयमा संस्थाका अध्यक्ष राजेन्द्रकुमार मिश्रले पानसमा दियो बाली सभाको उद्घाटन गरेका थिए । संस्थाले आर्थिक वर्ष २०८०–०८१ मा २ करोड २१ लाख ८२ हजार ६ सय ९९ रुपैयाँ ४२ पैसा आम्दानी गरी एक करोड ९२ लाख ५६ हजार ३४ रुपैयाँ ३ पैसा खर्च गरी २९ लाख २६ हजार ६ सय ६५ रुपैयाँ ३९ पैसा मुनाफा गरेको छ ।

संस्थाका अध्यक्ष मिश्रले दिगो विकासका लक्ष्य प्राप्तिमा योगदान पु र्‍याउने सहकारीलाई हरेक सदस्यले अभिप्रेरित गर्नुपर्नेमा जोड दिए । उनले केही समस्याग्रस्त सहकारीको कारण सहकारीप्रति आम मानिसको बदलिँदो दृष्टिकोणको बाबजुद पनि आफ्नो सहकारीले सदस्यहरुलाई सेवा दिँदै आएको बताउँदै त्यस्तो कुनै पनि समस्या यस संस्थामा नरहेकाले निशंकोच कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे ।

संस्थाका सचिव नानीबाबु थापाले संस्थाले सहकारी मुख्य मान्यता भित्रको विधि, प्रविधि र सिकाईलाई सदस्य र संस्थाको हितमा अधिकतम प्रयोग गर्न दैनिक व्यवस्थापनलाई आवश्यक नीति नियम तर्जुमा गरी समयानुकूल लागू गर्न कार्यान्वयन पक्षमा जोड दिँदै आएको बताए ।

उनले शेयर सदस्य वृद्धि गर्दै जाने, संस्थाका कर्मचारीको क्षमता, दक्षता एवं वृद्धि विकासका लागि विभिन्न तालिम सञ्चालन गर्ने, सहकारी अवलोकन भ्रमण गर्ने, संस्थाको सदस्यहरुको व्यक्तिगत विवरण केवाईसी फारम संकलन अद्यावधिक गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने, कृषि व्यावसायिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने, कर्जा असुली कार्यलाई प्रभावकारी बनाई सुरक्षित ऋणमा प्रवाह गर्ने लगायतका कार्यहरु आर्थिक वर्ष २०८१–०८२ मा गर्ने भावी योजना रहेको जानकारी दिए ।

कोषाध्यक्ष महालक्ष्मी खड्काले संस्थामा आर्थिक वर्ष २०७९–०८० मा एक करोड ७३ लाख ११ हजार ८ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०–०८१ शेयर पूँजी १ करोड ६६ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको बताइन् । उनले निक्षेपमा ११ करोड १९ लाख २८ हजार ७ सय ४१ रुपैयाँ ४७ पैसा र ऋण लगानीमा ११ करोड ९४ लाख ७४ हजार एक सय ४१ रुपैयाँ ५३ पैसा भएको जानकारी दिइन् ।

त्यसैगरी आर्थिक वर्ष २०८०–०८१ मा संस्थाको तरलता रकम एक करोड ६७ लाख ९६ हजार ५५ रुपैयाँ ४९ पैसा, संस्थाको जगेडा कोष ४५ लाख २२ हजार ३०५ रुपैयाँ ०६ पैसा तथा अन्य कोष २४ लाख ५३ हजार ८ सय ७५ रुपैँया ६६ पैसा रहेको उनले जानकारी दिइन् । उनले संस्थाले आर्थिक वर्ष २०८०–०८१ मा ९४ हजार एक सय ७८ रुपैँया ८० पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको जानकारी दिइन् ।

लेखा सुपरीवेक्षण समितिका संयोजक माधव थापाले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि र ऋण लगानीमा अनुगमन र सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले संस्थाको आर्थिक तथा प्रशासनिक व्यवस्था सुदृढ गर्नका लागि छुट्टै नियमावलीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । संस्थाका प्रबन्ध निर्देशक निरञ्जन राउतले साकुराले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको बताए । संस्थामा ९४७ महिला तथा एक हजार एक सय ५ पुरुष गरी कूल २ हजार ५२ जना सदस्य रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर