रवि लामिछानेसँग रकम असुल्न सिफारिस

काठमाडौं ।  सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिनुभएको थियो । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही सिफारिश गरेको छ । छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानूनविपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते समिति बनेको थियो । समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनका आफन्तको नाममा मात्रै सहकारी कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँबराबर अपचलन भएको उल्लेख छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर