औषधीय गुणले भरिपूर्ण फिटकिरी : फिटकिरीको औषधीय गुण र उपयोगिता

काठमाडौं । एन्टिबायोटिक र एन्टी-इन्फ्लेमेटरी गुणले भरिपूर्ण फिटकिरी प्राय: भान्सामा हुने रासायनिक पदार्थ हो । यसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ । यसमा रहेको म्याग्नेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ । फिटकिरी धेरै औषधीय गुणले भरिपूर्ण हुन्छ ।

पछिल्लो समय फिटकिरीको प्रयोग एकदमै कम हुने गर्छ, किनकि अहिले हरेक समस्याको समाधान मान्छेलाई छिटो चाहिन्छ । फिटकिरी जस्ता प्राकृतिक कुराले बिस्तारै समस्या समाधान गर्ने भएकाले पनि यसको प्रयोग कम भएको हुनसक्छ ।

फिटकिरीको औषधीय गुण र उपयोगिता

फिटकिरीमा एन्टिबायोटिक गुण पाइन्छ, जसकारण यो धेरै प्रकारका संक्रमणसँग लड्न निकै प्रभावकारी हुन्छ । मुखमा घाउ आउने र टन्सिलको समस्यामा यसको प्रयोग गर्न सकिन्छ । फिटकिरी दाँतको दुखाइ र गिजाको समस्यामा पनि उपयोगी हुन्छ । दाँतमा रहेको प्लाक पनि यसको प्रयोगले कम गर्न सकिन्छ ।

यसमा एन्टी-ब्याक्टेरियल गुण पनि पाइन्छ । यस गुणको कारण यो ब्याक्टेरिया नष्ट गर्न धेरै प्रभावकारी हुन्छ । घाँटी दुख्ने, शरीरको दुर्गन्ध, चिलाउने, एक्जिमा, डन्डीफोर जस्ता समस्यामा फिटकिरी फाइदाजनक मानिन्छ । शरीरमा पसिनाको दुर्गन्ध आउँछ भने त्यो दुर्गन्ध हटाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।

महिलाको यौनाङ्गबाट सेतो पानी बग्ने समस्या, पायल्सको समस्या र युरिन इन्फेक्सनको समस्यामा पनि फिटकिरीको प्रयोग गरिन्छ । फिटकिरीको प्रयोग पायल्सको प्राकृतिक उपचारमा पनि लाभदायक मानिन्छ । फिटकिरीमा पाइने एन्टी-इन्फ्लेमेटरी गुणले दुखाइ र सुन्निने समस्यालाई कम गर्छ । यदि शरीरको कुनै भागमा दुखाइ वा सुन्निएको छ भने त्यसमा पनि फिटकिरीको प्रयोग गर्न सकिन्छ ।

फिटकिरीमा एस्ट्रिन्जेन्ट गुण प्रचुर मात्रामा पाइन्छ । यसको प्रयोगले अनुहारको दाग र चाउरीको समस्या पनि कम गर्न सक्छ । अनुहारको कालोपन हटाउन पनि फिटकिरी प्रभावकारी हुन्छ । यसमा पाइने एस्ट्रिजेन्ट गुणका कारण यसले छालाको छिद्रलाई कडा बनाउन मद्दत गर्छ ।

प्रयोग गर्ने तरिका

टन्सिलको समस्या छ वा मुखमा घाउ आएको छ भने फिटकिरी पानीले मुख कुल्ला गर्दा छिटो सन्चो हुन्छ । एक गिलास मनतातो पानीमा एक चिया चम्चा फिटकिरीको धुलो मिसाएर बिहान बेलुका कुल्ला गर्दा समस्या कम हुन्छ ।

काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले त्यो ठाउँमा धुने र फिटकिरीको पाउडर लगाइयो भने रगत बन्द हुन्छ । शरीरमा पसिनाको दुर्गन्ध आउँछ भने त्यसलाई हटाउन पानीमा दुईदेखि तीन चम्चा फिटकिरीको धुलो मिसाएर नुहाउन सकिन्छ । शरीरको कुनै भागमा दुखाइ वा सुन्निएको छ भने फिटकिरी पानीमा डुबाउनाले आराम मिल्छ ।

अनुहारमा फिटकिरी रगड्दा पिम्पल र चाउरीको समस्या कम हुन्छ । यसबाहेक फिटकिरी पानीले पनि मुख धुन सकिन्छ । यसो गर्दा छाला सम्बन्धी समस्यामा धेरै फाइदा हुन्छ । शरीरमा खटिरा आएर चिलाउँछ भने दैनिक फिटकिरी लगाउँदा कीटाणुहरू नष्ट भई चिलाउने समस्या हट्छ । संक्रमण फैलिन दिंदैन ।

फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगकव सफाइ गर्ने गर्नुपर्छ । यस्तो गर्दा सेतो पानी बग्ने समस्या कम हुने गर्छ । आधा चम्चा फिटकिरीलाई एक गिलास पानीमा मिसाएर बिहान उठेपछि र राति सुत्नेबेला कुल्ला गर्दा दाँतलाई बलियो बनाउँछ । साथै सासको दुर्गन्ध पनि हट्छ ।

पायल्सको समस्या हुनेले पानीमा फिटकिरी मिसाएर प्रभावित क्षेत्रमा लगाउन सकिन्छ । यसले पायल्सको समस्यालाई कम गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर