आतंकवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली । विवादित हिमालय क्षेत्र जम्मु–कश्मिरमा एक दशकमा हुनलागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतंकवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । 

भारत प्रशासित कश्मिरमा दश वर्षपछि हुनलागेको पहिलो विधानसभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबीच झडप बढेको देखिएको छ । ‘बहादुरको सर्वोच्च बलिदान’ लाई श्रद्धाञ्जली दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुबै देशले यसलाई पूर्ण रूपमा दावी गर्दै आएका छन् । विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। पैतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ । सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधानसभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर