भैरहवा र पोखरा विमानस्थललाई गति दिन भारतसँग आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।

भारत भ्रमणमा रहेका मन्त्री पाण्डेले बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गरेका हुन् । मन्त्री पाण्डे भारतको नयाँदिल्लीमा बुधबारदेखि जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनमा भाग लिने सिलसिलामा भारतीयसमकक्षीसँग साइडलाइन भेटघाट गर्दै थिए ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चालनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरे ।

उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिएको थियो ।

यसैबिच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावतसँग नयाँदिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरेका थिए । सो क्रममा भारतीय संस्कृति तथा पर्यटनमन्त्री शेखावतले नेपाल र भारतबिचको प्रभावकारी आपसी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर