दसैँका लागि हवाई टिकट बुकिङ, बसको असोज पहिलो हप्ता

काठमाडौं । दसैँका लागि यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट भने असोज पहिलो हप्तादेखि मात्रै खुला गरिने भएको छ ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए ।

बुद्ध एअरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए । श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिए ।

यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।

दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् । यातायात व्यवस्था विभागले पनि व्यवसायीसँग छलफल गरी असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, “सडक मर्मतका लागि मातहतका निकायलाई भनिरहेका छौँ, सडकको मर्मत हुन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर