रास्वपा प्रतिवाद गर्न तयार : सत्तारुढ दल मार्ग प्रशस्तको प्रतीक्षामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु प्रतिवाद गर्न तयार रहेको बताएको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखको कदम गलत भए पनि स्पष्टीकरणको मौका दिनुपर्ने बताए ।

१८ महिना अगाडिको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गरे । उनले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालीरहेको भन्दै उनीहरुको कदमअनुसार आफ्नो कदम निर्धारण गर्ने बताए ।

प्रधानमन्त्री ओली र सभापति लामिछानेबिच भेट

रास्वपा सभापति रवि लामिछानेले संसदमा उपसभामुखमाथि विषय उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताएका छन्। उनले संसदमा उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने विषय उठेपछि प्रधानमन्त्रीलाई भेट्न गएको बताएका हुन्।
‘उहाँसँग छलफल गर्न गए। उहाँलाई मैले भने( यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। किनभने दुई तिहाई सरकारका प्राथमिकता धेरै छन्। दुई तिहाई भनेको शक्ति हो। तर, त्यो शक्ति कहाँ सदुपयोग गर्ने भन्ने तपाईंहरुले पक्कै बुझ्नुहुन्छ होला भने, उपसभामुखलाई हटाउने सोचिरहनुभएको छ भने सायद यो घातक हुन्छ भने’। रविको भनाइ थियो ।

लामिछानेले प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीसँग सौहार्दपूर्ण रुपमा कुरा भएको जानकारी दिए। लामिछानेले आफूले शेरबहादुर देउवालाई नभेटेको भनेर समाचार आएपनि त्यसमा सत्यता नभएको बताएका हुन्। उनले भने, ‘मैले शेरबहादुर देउवालाई भेटेको छैन। प्रधानमन्त्रीसँग त संसदमा पनि भेट हुन्छ। म कसैको फेबर मान्ने मान्छे होइन।’

कांग्रेस साझा धारणा बनाएर अघि बढ्ने

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने जनाएको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारीहरूको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सत्तारूढ दलको साझा धारणा बनेपछि संसदीय दलको बैठक बस्ने जानकारी दिए ।
“उहाँमाथि गम्भीर प्रश्न उठेको हो । संसद्लाई नै अपामानित गरेको छ । शिर झुकाएको छ,” उनले भने । उपसभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निचोड कांग्रेसको छ । “हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु अर्थात् बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो,” घिमिरेले भने । उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको निष्कर्ष कांग्रेसको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर