बाँकेको नरैनापुरमा जापनिज इन्सेफ्लाइटिसका बिरामी

काठमाडौं ।  बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताए । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयोे”, उनले भने ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ । उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए । यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा. खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर