राष्ट्र बैंकको निर्देशनविपरीत बैंकर्स संघको निर्णय, जेठमा ब्याजदर घटबढ नहुने
काठमाडौं । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको छ ।
नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य तथा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने जानकारी दिए । उनले भने, ‘आज बिहान बसेको बैंकर एसोसिएसनको बैठकले जेठ महिनाका लागि हाल कायम रहेकै ब्याजदर यथावत् राख्ने निर्णय भएको छ ।’
राष्ट्र बैंकले गत सोमबार बैंक तथा वित्तीय संस्थाहरूका लागि एक सर्कुलर जारी गर्दै तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिनुपर्ने जनाएको थियो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
“कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।”
पछिल्लो तीन महिनाको औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुनेबारे बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा ऋणीलाई जानकारी दिनुपर्नेछ । त्यस्तै कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रबाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ ।
आधारदर निर्धारणसम्बन्धी कार्यविधि, २०६९ बमोजिम मासिकरुपले आधारदर गणना गरी उक्त विवरण महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार मासिक तथा पछिल्लो तीन महिनाको औसत आधारदर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमासमेत प्रकाशित गर्नुपर्नेछ ।
कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । जस्तै कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत बिन्दुले प्रिमियम थप गर्न पाउँछन् ।