भेनेजुएलाका विपक्षी दलका नेताले छाडे देश

काठमाडौं ।  भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले शनिबार जनाएको छ । गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए भने उनलाई सुनुवाईका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनी अदालतसामु उपस्थित भएका थिएनन् ।

भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रूपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गर्नुभएको थियो ।’’

भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मडुरोलाई विजयी घोषित गरिएको थियो । प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मडुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आएका छन् । खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तरराष्ट्रिय प्रतिबन्धबाट पीडित उनको कार्यकालमा कूल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर