भक्तपुरमा सूर्यविनायकको खटजात्रा हर्षोल्लासपूर्वक सम्पन्न

काठमाडौं ।  भक्तपुरमा गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ ।  सूर्यविनायक गणेश मन्दिरबाट गणेशको चाँदीको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा मनाइएको थियो । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले शनिवार बिहान सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई साँझ गणेश जन्मोत्सव जात्रा गरेका हुन् ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समितिको संयोजन र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा खट जात्रा हजारौँको सहभागितामा दिनभर टोलटोलमा खटलाई परिक्रमा गराई साँझ सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष एवं प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । ‘पुर्खाले मनाउँदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो विगत पाँच वर्षदेखि भने नियमित रूपमा सञ्चालन गरिरहेका छौँ । यस वर्ष पनि हजारौँ स्थानीयको सहभागितामा सिन्दूर खेल्दै रथ टोलटोल पुर्याएर हर्षोल्लासका साथ जात्रा मनाइएको छ,’ उनले भने । जात्रा व्यवस्थापनका लागि दुईवटै वडाले रु तीन‐तीन लाख सहयोग गरेका अध्यक्ष बस्नेतले बताए ।

गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको यस जात्रालाई बर्सेनि निरन्तरता दिइने क्लबका अध्यक्ष मनोज गिरीले उल्लेख गरे । जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

काठमाडौं उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्ने गरेका छन् । समितिकानुसार यहाँ रहेको गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर