केपी ओलीले अब जनताको राउन्ड किक देख्नेछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर अभियान चलाउने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा उनले ‘जनयुद्ध’ लाई सरकारमा रहेका दलका नेताहरूले ‘हिंसा’ भन्ने दुस्साहस गरेको भन्दै उनले जनतामा गएर भन्डाफोर गरिने आफ्नो पार्टीको योजना रहेको सुनाए ।
ठूलो बलिदानीबाट व्यवस्था परिवर्तन भएको भन्दै उनले सोही व्यवस्थाबाट लाभ लिनेहरुले जनयुद्धलाई दुत्कार्ने छुट नभएको स्पष्ट पारे ।
जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएको आक्षेप लगाउँदै प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर बोलेको आफूले सुनेको बताउँदै प्रचण्डले अब जनताको राउन्ड किक उनीहरूले देख्ने बताए । “प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले (केपी ओली) त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर