गण्डकीमा नौ सदस्यीय मन्त्रीमण्डल गठनपछि पूर्णता

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नेकपा एमालेबाट सोमबार चार मन्त्री थपिएपछि नौ सदस्यीय मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे गत जेठ १६ गते सर्वोच्च अदालतको परमादेशबमोजिम मुख्यमन्त्री नियुक्त भएको थियो । पाण्डेलाई अहिले गण्डकी प्रदेशसभाका ८८ प्रतिशत सदस्यको समर्थन छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, स्वतन्त्र सांसद राजीव गुरुङ, नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद गरी ५३ सांसदको समर्थन छ ।

सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ । स्वतन्त्र सांसद गुरुङ र नेपाल समाजवादीका सांसद देवकोटालाई कांग्रेसले आफ्नै कोटाबाट मन्त्रीमा निरन्तरता दिएको हो । मन्त्री बनेकी नवलपुरकी सांसद पद्मा जिसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सांसद कृष्णप्रसाद पाठकलाई स्वास्थ्य मन्त्रालय र समानुपातिक सांसद प्रकाशबहादुर केसीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालयकोे जिम्मेवारी तोकिएको छ ।

यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालय र नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी डा. टकराज गुरुङ र विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुदमन्त्री छन् । हिजो बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या सातबाट बढाएर नौ पुर्‍याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर