माओवादीको अध्यक्ष पद छाड्ने मानसिकतामा प्रचण्ड ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले आफूले पार्टीको नेतृत्व गरेको ३५–३६ वर्ष पुगिसकेको भन्दै अब पार्टीभित्र एउटा सिस्टम बसालेर आफू अर्को भूमिकामा जाने सोच गरेको बताएको हो । “पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ ।” उनले भने, “पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५–३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भुमिकामा जाने सोचमा छु ।” उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए ।

प्रचण्डले समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउदै लैजाने र टुटफुट भएका माओवादीहरुसँग एकता गर्ने क्रम चलिरहेको बताए । अध्यक्ष प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र मात्रै भएको दाबी गरे । “नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र मात्रै हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति भनेकै माओवादीकै एजेण्डाले हो ।” उनले भने, “हामी सरकारमा हुँदा ल्याएको नीति तथा कार्यक्रममा युवालक्षित गरेर बनाएका छौं, सबैक्षेत्रमा युवाहरुलाई अवसर दिनुपर्छ भन्ने हो ।”

यसैबीच अध्यक्ष प्रचण्डले वर्तमान सरकार असंवैधानिक तवरले बनेको बताए । “हाम्रो दृष्टिकोणमा मात्रै नभएर संविधानकै दृष्टिकोणमा हालको सरकार असंवैधानिक छ, परिस्थितिलाई ठोस ढङ्गले अगाडि बढाउन हामी लागिरहेका छौं”, उनले भने, “जनताका इच्छा, भावनाविपरीत यो सरकारले काम गर्दैछ, यसको विरुद्धमा आवश्यक परेमा हामी सडकमा जान समेत सक्छौं, तर सशस्त्र रूपमा होइन शान्तिपूर्ण आन्दोलका रूपमा ।” प्रचण्डले आफू अहिले सरकारमा जानुभन्दा पनि पार्टी निर्माण कार्यमा लागिरहेको सुनाए ।

उनले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढीकरण गरेको भन्दै अब झन् सबै शक्ति लागेर पार्टी निर्माण कार्यमा लागेको जनाए । आइतबार र सोमबार नेपालगन्जमा हुन लागेको पार्टीको लुम्बिनी प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न उनी शनिबार बेलुका सुर्खेतबाट नेपालगन्ज आइपुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर