निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने तीन जनाको मृत्यु
काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-७ रानिनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोलासिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी त्रिवेणी गाउँपालिका ७ स्थानीय ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजाको बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको हो ।
सेफ्टी टङ्कीभित्र तीन जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहको जनाइएको छ ।