मुलुकको अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभाका सदस्यहरूले उठाइएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सीमित स्रोतले असीमिति आवश्यकता पूरा गर्न नसक्ने बताएका हुन् ।

“हाम्रा महत्त्वाकांक्षा र आवश्यकता थुप्रै छन्, तर हाम्रो साधन र स्रोतको सीमितता छ। थोरै स्रोत र साधनले धेरै आवश्यकता र महात्त्वाकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती छ”, उनले भने, “अहिले पनि बजेट छर्ने दबाबमा छ। त्यो स्वाभाविक पनि हो। तर बजेटमा क्षेत्रगत प्राथमिकताभित्र पनि अर्को प्राथमिकता निर्धारण गर्नुपर्ने भएको छ।” क्रमागत र बहुवर्षीय आयोजनाको दायित्व निकै धेरै रहेकोले नयाँ योजना र कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न चुनौती हुने उनको भनाइ छ।

“वास्तविक स्रोत सुनिश्चित नै नभइकन विगतका वर्षमा पूरा लागतका आयोजना अघि बढाइएका छन्। चार खर्बभन्दा बढीका यस्ता आयोजना छन्”, डा महतले भने, “स्रोत नै सुनिश्चित नभइकन ठेक्का लगाइएका आयोजना हेर्ने हो भने अझै तीन–चार वर्ष हामीले अरु कुनै आयोजना र कार्यक्रममा बजेट नछुट्याइकन त्यसैमा मात्र विनियोजन गर्नुपर्ने अवस्था छ।”

विगतका वर्षमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा अर्थतन्त्रका सूचकको विश्लेषण गर्ने चलन नभए पनि यस वर्ष आफूले अर्थतन्त्रको वास्तविक समस्यासमेत देखाएर समस्या स्वीकार गरेरै अघि बढ्न चाहेको उनले बताए ।

सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व बढिरहेकाले बजेटको स्रोतमा चाप परेको पनि बताए । त्यस्तै अर्थतन्त्र विगतका वर्ष राम्रो रहेको र अहिले एकाएक बिग्रिएको नभई एकपछि अर्को समस्या थपिएर अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ छ।

“हामी हुँदा ठीकठाक थियो, तर अहिले मात्रै बिग्रियो भनेर भन्नुभएको छ। तर विगतदेखिकै समस्या थपिएर अहिलेको अवस्था बनेको हो”, डा. महतले भने, “रोग लागिसकेको हुन्छ। तर त्यसको पुष्टि हुन समय लाग्छ। अर्थतन्त्रको अवस्था पनि त्यही हो।” अर्थमन्त्री महतले अर्थतन्त्र निकै धराशायी भइसकेको भन्ने नरहेको पनि दावी गगर्दै भने, “अर्थतन्त्र धराशायी भएको, ओरालो लागेको भन्ने होइन। तर उकालो चढ्नेक्रम र रफ्तार कम भएको मात्रै हो ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर