महिला र पुरुषलाई एकअर्काको शरीर हेर्न निषेध

काठमाडौं ।  अफगानिस्तानको तालिबान सरकारले महिलाको विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाउने नयाँ कानून ल्याएको छ । तालिबान सरकारले गत साता महिलासम्बन्धी नयाँ कानून ल्याएको हो । यो नयाँ कानूनलाई तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेका छन् । अब कार्यान्वयन गर्ने जिम्मा नैतिक मन्त्रालयलाई दिइएको छ ।

नयाँ कानूनमा महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । कानूनबाट कसैलाई पनि छुट नहुने मन्त्रालयले जनाएको छ । कानूनअनुसार नैतिक प्रहरीले सार्वजनिक स्थानमा कसले के लगाएको छ भनेर जाँच गर्नेछ । तालिबानका अनुसार यी नियम इस्लामको शरिया कानूनी प्रणालीको आधारमा बनाइएको हो ।

सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले २०२२ मा नै यससम्बन्धमा आदेश दिएका थिए । तर, अहिले मात्रै औपचारिक रूपमा कानूनको रूपमा ग्रहण गर्न लागिएको हो । कानूनअनुसार महिलाले आफ्नो पूरै शरीर ढाक्नुपर्छ, सार्वजनिक स्थलमा महिला चुपचाप बस्नु पर्नेछ, सार्वजनिक स्थान र घरमा ठूलो स्वरमा गाउन र पढ्न निषेध गरिएको छ । नयाँ कानूनमा महिलाबाहेक पुरुषमाथि पनि प्रतिबन्ध लगाइएको छ । पुरुषलाई महिलाको शरीर र अनुहार हेर्न निषेध गरिएको छ । महिलाहरूलाई पनि त्यसै गर्न आग्रह गरिएको छ ।

पुरुषले आफ्नो कपाल शरियाअन्तर्गत राख्नुपर्छ । पुरुषलाई पनि टाई लगाउन प्रतिबन्ध लगाइएको छ । तालिबानले धेरै ठाउँमा पुरुषको दाह्री र कपाल काट्न प्रतिबन्ध लगाएको छ । अफगानिस्तानको नैतिक पुलिसले नयाँ कानून सबै ठाउँमा पालना भइरहेको छ वा छैन हेर्नेछ । प्रहरीको काम कानून मिच्नेलाई अदालतमा पुर्‍याउने छ । साथै, नैतिक प्रहरीले ट्याक्सी चालकहरूलाई आमाबाबु र दाजुभाइजस्ता पुरुष आफन्तहरू सँगसँगै नआएका महिलाहरूलाई लैजानबाट रोक्न सक्छ ।

यो अवधिमा महिलाले हिजाब पनि लगाउनु पर्नेछ । यसका साथै कारमा पुरुष र महिला सँगसँगै बस्न पनि प्रतिबन्ध लगाइएको छ । नयाँ कानूनअनुसार जीवित प्राणीको तस्बिर बनाउन वा प्रकाशन गर्न पनि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा कुनै पंक्षी, जनावर वा परिवारका सदस्यको तस्बिर बनाउन प्रतिबन्ध लगाइएको छ । नयाँ नियमअनुसार जीवित प्राणीको मूर्ति खरिद बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।कानूनअनुसार नैतिक प्रहरीले रेडियो र टेप रेकर्डरको दुरुपयोगलाई पनि रोक्ने छ । किनभने शरिया कानूनअनुसार गीत बजाउनु हराम हो । यसबाहेक कुनै पनि जीवित प्राणीमाथि बनेको फिल्म हेर्न प्रतिबन्ध लगाइएको छ ।

कसैले कानून उल्लंघन गरी निन्दनीय कार्य गरेमा तीन दिनसम्म जरिवाना र जेल सजाय हुन सक्नेछ । तालिबान सरकारले गत वर्ष शरिया कानूनको पालना नगरेको भन्दै मोरालिटी पुलिसले १३ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी रूपमा हिरासतमा लिएको थियो। धेरैले यी नयाँ कानूनको आलोचना गरिरहेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहायता नियोगका प्रमुख रोजा ओतुनबायेभाले दशकौंको युद्ध र सङ्कटपछि अफगानिस्तानका जनता अझ राम्रोका हकदार रहेको बताइन् ।

शरिया कानून के हो ?

शरिया कानून एक प्रकारको इस्लामिक कानूनी व्यवस्था हो। यो कुरान र इस्लामिक विद्वानहरूको निर्णयहरू संयोजन गरेर तयार गरिएको हो।यो जीवन जिउने एक तरिका मानिन्छ। शरिया कानून अनुसार, जीवनको हरेक पक्षलाई अल्लाह वा ईश्वरको इच्छाअनुसार कसरी जिउनुपर्छ भनेर बताइन्छ। यसका साथै अपराधबारे पनि जानकारी दिइएको छ ।

बीबीसीको रिपोर्ट अनुसार शरिया कानूनमा दुई प्रकारका अपराध छन्। यसमा पहिलो श्रेणीलाई हद र दोस्रो वर्गलाई तजीर भनिन्छ । पहिलो श्रेणीमा गम्भीर अपराधहरू समावेश छन् र प्रत्यक्ष सजायको प्रावधान छ।  जबकि दोस्रो श्रेणीको तजीरमा न्यायाधीशको निर्णयका आधारमा सजाय दिइन्छ । चरम अपराधको कुरा गर्ने हो भने त्यसमा चोरी इत्यादि पनि पर्दछन् र त्यसको सजाय झनै खतरनाक हुन्छ । यस्तो अवस्थामा अपराधीलाई सजाय दिन उनीहरूको हातसमेत काटिन्छ । धेरै अपराधमा ढुङ्गाले हानेर मृत्युदण्डको व्यवस्था पनि छ । यौन अपराधलाई ढुङ्गाले हानेर मृत्युसहित कडा सजाय दिइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर