पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीन सङ्क्रमितको मृत्यु र ६८ जनालाई हैजा

काठमाडौं ।  देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी ) को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ  । दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ ।

यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु पुष्टि भएको छ । प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा एक हजार ४८६, गण्डकी प्रदेशमा दुई हजार ४४०, कोशी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ४१८, सुदूरपश्चिम प्रदेशमा ३३४, मधेश प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ ।

६८ जनामा हैजा पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पानीजन्य रोगबाट बच्न पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना निकाल्दै गर्मी तथा वर्षयामसँगै फैलिने झाडापखाला जस्ता पानीजन्य रोगहरुबाट बच्न पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गर्नुका साथै काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेर मात्र खाना सुझाव दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार, ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६८ जनामा हैजा पुष्टि भएको छ ।

सबैभन्दा बढि हैजा पुष्टि ललितपुरमा भएको छ । ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा ८, प्युठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ । डा. पुनका अनुसार चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशी (विशेषगरी खुट्टाको) बाउँडिनु हैजाका मुख्य लक्षण हुन् ।

सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गड्ने, छाला चिसोे हुने, हातगोडा बाउँडिने, जलवियोजन भएर मानिसको मृत्युसमेत हुने डा. पुनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर