राष्ट्रिय प्राणी उद्यानको अवस्था बिचल्ली ( भिडियोसहित )

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ६, ७ र ८ मा  निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको अवस्था बिचल्ली रहेको छ । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले उद्घाटन गर्दै दुई वर्षभित्र वन्यजन्तु तथा पशुपन्छी उद्यान सञ्चालनमा आउने घोषणा गरेको  ८ वर्ष  बितिसक्दा पनि यसले पूर्णता पाउनेमा शंका रहेको देखिन्छ । उद्यान निर्माण गर्न प्राविधिक रूपमा र स्थानीय स्तरमा कुनै समस्या रहेको छैन, समस्या छ त सरकारी निकायमै जहाँ फाइल रोकिदिँदा प्राणी उद्यानको काम अगाडि बढ्न सकिरहेको छैन ।

२०७१ सालमा स्वर्गीय सुशील कोइराला प्रधामन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्बाट उद्यान निर्माण गर्ने निर्णय पारित भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते उद्यानको शिलान्यास गरेका थिए । तर, उद्यानको काम भने कछुवा गतिमा छ । अहिलेसम्म १७ करोड रूपैयाँ खर्च भइसकेको उद्यान केन्द्रको गुरूयोजना तथा डीपीआरको काम भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अझै अघि बढाउनै सकेको छैन । निर्माण गर्न लागिएको प्राणी उद्यान केन्द्रको लागत भने करिब १० अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

नेपालमै पहिलो पटक निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको गुरूयोजना अनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ, जसमा लोपउन्मुख प्रजाति एवम् वन्य जन्तुको सरक्षण र प्रजनन केन्द्रको स्थापना गरिनेछ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाहका साथै उपचार गर्नका लागि पशु अस्पतालसमेत निर्माण गर्ने लक्ष्य रहेको छ । साथै पर्यटकका लागि सुरक्षित तरिकाले अवलोकन गराउने व्यवस्था गर्ने जनाएको छ । जैविक पर्यटन र जीवजन्तुको खुल्ला चिडियाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहलसमेत बनाउने लक्ष्य लिएको छ ।

अहिलेसम्ममा उद्यानको काममा क्षेत्र निर्धारण, केही ठाउँमा तारबारले घेर्ने र उद्यानको भवन निर्माण तथा उक्त गुरूयोजना र प्राणी उद्यान सञ्चालनको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेश गरेको छ । तर, विभागले यी दुवै फाइल अड्काएर राखेको कारणले पनि यस क्षेत्रमा उद्यान निर्माण हुनेमा शंका बढेर गएको छ । उद्यानका निर्देशक भुपेन्द्र प्रसाद यादवले वर्तमान ओलीकै प्रधानमन्त्रीत्वकालमा उद्यान निर्माण हुने बताए । अहिले ओलीको प्रधानमन्त्रीत्वकालमा उद्यान निर्माण नभए कहिले पनि नबन्ने ठोकुवा गर्दै प्रमुख यादवले भने, “प्रधानमन्त्री ओली पनि भक्तपुरमै बस्नु हुने कारणले उहाँले यसको निर्माणमा प्रमुख आवश्यकता दिनु भई उद्यान सञ्चालनमा आउनेमा आफू ढुक्कमा रहेको छु ।”

तत्कालीन कटुन्जे, गुण्डु र सिपाडोल गाविस हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ६, ७ र ८ को भू–भाग यो उद्यानको सीमाभित्र पर्छ । उक्त क्षेत्रभित्र ७ वटा सामुदायिक वन तथा सरकारी वनको २ सय ४५ हेक्टर क्षेत्रफल ओगट्छ । उद्यानको १६ किलोमिटरमध्ये अहिलेसम्म जम्मा १३ किलोमिटर बाहिरी घेरा तारजाली हाल्ने कार्य भएको छ । उद्यान क्षेत्रभित्र केही घर, टहरा, विद्यालयको स्थानान्तरण गर्नुपर्ने तथा खानेपानीको ट्यांकी र स्थानीयको कूलदेवताको व्यवस्थापन गर्न उद्यान कार्यालयले सकेको छैन ।

उद्यान दुर्लभ एवं संकटापन्न प्रजातिको वासस्थान व्यवस्थापनबाट संख्या बढाउने, वन्यजन्तुको स्वभाव एवं आनीबानीबारे अध्ययन गर्ने गराउने, वन्यजन्तुको उद्धार एवं उपचार गर्ने, जैविक विविधता संरक्षणका लागि संरक्षण शिक्षा प्रदान गर्ने, मानव समुदायलाई मनोरञ्जन आमोद प्रमोद गर्ने र पर्या पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय आयमा बृद्धि गर्ने उद्देश्यले निर्माण सुरू गरिएको हो । निर्माणाधीन प्राणी उद्यानमा बाघ, गैँडा, हात्ती, चित्तल, मृग, निलगाई, चौरी, गोही, झारल, हुँडार, हाब्रे, बाँदर प्रजाति अजिङ्गर गोही र सबै प्रकृतिका चरा प्रजाति रहने छन् ।

उद्यान क्षेत्रमा ९८ प्रजातिका चरा तथा १४ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने एक अध्ययनले देखाएको छ । उद्यान क्षेत्रभित्र चितुवा, रतुवा मृग, चरीबाघ, सालक, बँदेल, दुम्सी, ढेडु बाँदर, खरायो, न्याउरीमुसा, निरबिरालो, तथा बाँदर पाइन्छन् । त्यस्तै‚ ६७८ प्रजापतिका वनस्पति पाइने अध्ययनले देखाएको छ । यहाँ रूख १२४, बुट्यान १०२, जडिबुटी ४२४ र लहरा २८ प्रजातिका वनस्पति पाइने सो अध्ययनले देखाएको छ ।
मुलुककै गौरव यो आयोजना समयमा निर्माण सम्पन्न गरेर पूर्ण रूपमा सञ्चालन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आकर्षणको केन्द्र हुने स्थानीयहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर