नेपालद्वारा पेनाल्टी सुटआउटमा भुटान पराजित, फाइनलमा प्रवेश

काठमाडौं । नेपालले भुटानलाई हराउँदै  साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई उपाधिनजिक पुर्‍याएका हुन्। निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा जेत्सुइन दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए। तर, निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा नीराजन धामीले नेपाललाई खेलमा फर्काए।

उनले लछु थापाको हुक पासलाई हेडिङमार्फत गोल गरेका थिए।  प्रतियोगितामा उनको यो दोस्रो गोल हो। समूह चरणमा उनले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए। अब नेपालले उपाधिका लागि बुधबार भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल सोमबार हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर