मध्यपुरथिमिमा भैरव, महाकाली, नीलबाराही नाच सम्पन्न

काठमाडौं । गाईजात्राको भोलिपल्ट (भदौ ५ गते) रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक–फरक स्थानमा तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै सञ्चालन गरिएका भैरव, महाकाली, नीलबाराहीलगायतका देवीदेवता नाच आज आइतबार बिहान सम्पन्न भएको छ ।

भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीको रातिसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा नीलबाराही, नगदेशमा महाकाली र थिमिमा लायकु भैलः एवं थिमि भैलः नाच सञ्चालन गरिएको थियो । मध्यपुरथिमि शहरका विभिन्न स्थानका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिशाचलगायतलाई तान्त्रिक गुरुहरूले तन्त्रोक्त विधिद्वारा देवीदेवतालाई रातभर जागा गराई टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको कथन रहेको सस्कृतिकर्मी अर्जुन श्रेष्ठ बताउँछन् ।

यस वर्ष सञ्चालनमा आएको थिमिमा ताहाननीबाट थिमि भैलः (थिमि भैरव) नगदेशमा महाकाली र बोडेमा नीलबाराही नाच सम्पन्न भएको उनले जानकारी दिए । देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको बोडेको नीलबाराही नाच यस वर्ष पनि सम्पन्न भएको स्थानीय दिलकृष्ण प्रजापतिले बताए । विभिन्न कारणले पटकपटक रोकिँदै आएको लायकु भैल र महाकाली नाच यस वर्ष प्रदर्शन गरिएको हो ।

करिब दुई दशकपछि मध्यपुरथिमि–५, ताहाननीबाट यस वर्ष थिमि भैलः प्याखँ प्रदर्शन भएको छ । महाकाली नाच पाँच वर्षपछि प्रदर्शनमा आएको हो । यी नाचमा ५० भन्दा बढी व्यक्तिले विभिन्न देवीदेवताको तन्त्रोक्त विधिबाट जगाएको मुकुण्डो धारण गरी विभिन्न बाजाको तालमा विधिअनुसार दैवीशक्ति जागा गराई नाच्ने चलन रहेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ । नीलबाराही नाचका क्रममा रातभर नाच्ने र टोलटोलमा बिहान भएपछि स्थानीयले पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । स्थानीय दिलकृष्ण प्रजापतिका अनुसार चार रात नसुतिकन देव गणहरूले जात्रा चलाएका थिए भने स्थानीय जनताले निरन्तर साथ दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर