पहिरोबाट अरनिको राजमार्गको बन्देउ र जिरो किलो सडक पूर्णरूपमा बन्द

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग र जिरो किलो मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हिजो शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट बन्देउ खण्ड र हेलम्बु सडकको जिरो किलो फेदी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत भुम्लु गाउँपालिका ८ बन्देउ डाँडामा आज बिहान करिब साढे ४ बजेको समयमा राजमार्गमाथिबाट सुख्खा पहिरोसहित रूख ढली बाटो दुबैतर्फ अवरोध भएको जनाएको छ । प्रहरीले अरनिको राजमार्गमा भएको अवरोध हटाउनका लागि स्थानीय तहसँग समन्वय भए पनि पहिरो आइरहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकेको जनाएको छ ।

यसैबिच वर्षासँगै आएको पहिरोका कारण जिरोकिली मेलम्ची सडक खण्ड समेत पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ६ बजेको समयमा जिल्लाको पाँचखाल नगरपालिका ४ फेदीस्थित जिरो किलो मेलम्ची सडक खण्डमा सड्कभन्दा माथिबाट पहिरो आई जिरो किलो मेलम्ची सडक खण्डको सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनले अवरुद्ध सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय गरिएको बताए । (तस्बिर सौजन्य: जिप्रका काभ्रे)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर