बर्खायाम लागेसँगै डेंगु र हैजाको सङ्क्रमणमा वृद्धि

काठमाडौं । बर्खायाम लागेसँगै डेंगु र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको बताए ।

७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । यस वर्ष हालसम्म तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ ।

काठमाडौं जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।  यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्युठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए ।

उनका अनुसार ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्युठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर