फ्रेन्च लिग : पीएसजीको लगातार दोस्रो जित

काठमाडौं ।  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी, वारेन जाइरी इमेरे र काङ इनलीले एक एक गोल गरेका थिए । पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्समा खेलको चौथो मिनेटमा बारकोलाले गोल गर्दै अग्रता दिलाएका थिए । जाओ नेभेसको पासमा बारकोलाले गोल गरेका थिए । २४ औँ मिनेटमा मार्को एसेन्सियोले नेभसकै पासमा गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो । ५३ औँ मिनेटमा ओस्मन डेम्बेलेको पासमा बारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले अग्रता ३–० बनायो । कुनै पनि बेला मोन्टपिलरले खेलमा फर्कन प्रयास गरे पनि सफल भएन । ५८ औँ मिनेटमा अचरफ हकिमीले नुनो मेन्डेसको पासमा गोल गरेपछि पीएसजी फराकिलो र एकतर्फी जित तर्फ अग्रसर भएको हो । ६० औँ मिनेटमा जाइर इमेरेले डेम्बेलेको पासमा गोल गर्दा पीएसजी ५–० ले अघि बढेको थियो । ८२ औँ मिनेटमा काङ इनलीले हकिमीको पासमा गोल गरेपछि पीएसजीले ६–० को एकतर्फी जित दर्ता गर्दै स्पष्ट ३ अंक लिएको छ । पीएसजीको लगातार दोस्रो जित हो भने मोन्टपिलरको पहिलो हार हो । २ खेलबाट पीएसजीले ६ अंक बनाउँदा मोन्टपिलरको समान खेलबाट ३ अंक मात्रै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर