सहकारी रकम अपचलन : के इन्कारी बयानले रवि लामिछाने चोखिएला?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
समितिको हिजो शुक्रबार अपराह्न बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
समिति सचिव बबिता मिश्रकाअनुसार हिजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।
समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।
विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।
छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ ।

रवि लामिछानेको इन्कारी बयान

उनले गोरखा मिडियाले लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् । ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ‚’ लामिछानेको भनाई उद्धृत गर्दै समितिका सदस्यले भने । जबकि उनको नाममा बुटवलको सुप्रिम सहकारीबाट ऋण प्रवाह भएको सार्वजनिक भइसकेको छ । बयानमा लामिछानेले आफूले गोरखा मिडिया नेटवर्कमा पसिनाको १५ प्रतिशत शेयर लिएको र त्यसैका आधारमा एमडी भएको बताएका छन् ।

बयानपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको दाबी गरेका छन् । ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ ,’ बयानबाट निस्कँदै गर्दा उनले भने, ‘यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु ।’

बयान राति १ बजेसम्म चलेको थियो । करिब १० घण्टा चलेको बयानमा समितिका सदस्यहरूले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ मूल प्रश्न सोधेका थिए । लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्व आफूमा नरहेको भन्दै इन्कारी बयान दिएका हुन् । समिति सभापति सूर्य थापाका अनुसार सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर