बालकृष्ण खाँणका स्वकीयसचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीयसचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा परेका छन् ।
प्रहरीले उनलाई बुधबार बिहान जडीबुटीबाट पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको । यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनाका अर्का आरोपित एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी परिसरले उनीहरूविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ । उक्त घटनाका पीडितहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर