जाजरकोटमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु

काठमाडौं ।  जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध भएको छ । आइतबार बेलुका लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा  जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रि सेवाका बस अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् । पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ ।

आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर