आज देशभर रक्षाबन्धन एवं जनै पूर्णिमा उत्साहका साथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।  मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपाल पञ्चांग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।

यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, काठमाडौंको मरुटोलस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।

रक्षाबन्धनसम्बन्धी पौराणिक कथा प्रसंगहरूः

हिन्दू धर्म र संस्कृतिअनुसार श्रावण महिनाको पूर्णिमाका दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाइन्छ । रक्षाबन्धन भनेको सुरक्षाको बन्धन हो। यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको अटुट मायालाई झल्काउँछ । यस दिन दिदीबहिनीले दाजुभाइको थाली सजाएर आरती गरी दाहिने नाडीमा राखी बाँधेर दीर्घायु, सुस्वास्थ्य र सफलताको कामना गर्छन् । एकै समयमा, दाजुभाइहरूले आफ्ना दिदीबहिनीहरूको रक्षा गर्ने र तिनीहरूलाई सधैँ मद्दत गर्ने वाचा गर्छन्।

यो पर्व सत्य युगमा सुरु भएको मानिन्छ । माता लक्ष्मीले राजा बलिलाई रक्षासूत्र बाँधेर यो परम्पराको सुरुवात गरेकी हुन् । राजा बलिको दान धार्मिक इतिहासमा सबैभन्दा ठूलो हो। पौराणिक कथानुसार एक पटक राजा बलिले यज्ञ गरिसकेपछि गरिएको दान दातब्यबाट स्वर्ग, मर्त्य र पाताल हल्लिए । यो देखेर इन्द्रादि देवताको आशन डोलाउमान भयो उनीहरू भगवान विष्णुसमक्ष पुगर राजा बलिलाई पृथ्वी लोकमा दान कार्यबाट विमुख गराउन आग्रह गरे । इन्द्रादि देवताको स्तुति सुनरे भगवान विष्णुले वामन भिक्षुक अवतार लिएर परोपकारी राजा बलिसँग तीन कदम जमिन भिक्षामा मागे। आकर्षक र तेजोमय बालक भिक्षुकलाई देखेर राजा कलि तीन कदम जमिन दान दिन राजी भए । जब राजा बलि राजी भए त्यसबेला वामनरूपी भगवान विष्णुले एक कदम आकाश, अर्को कदम पृथ्वी र तेस्रो कदम पातालमा तेर्स्याउँदा संसारमा अन्तरिक्षबाहेक अरू केही बाँकी रहेन । यो देखेर राजा बलिले तीन कदममा सम्पूर्ण संसार ओगट्न सक्ने यी वामन अवतार को हुन ? भनी आफ्ना गुरु शुक्राचार्यसँग परामर्श गरे । गुरु शुक्राचार्यले आफूले पहिल्यै ती भिक्षुकरूपी वामनलाई दान दातब्य नदिनु भनेर सम्झाएको स्मरण गराए । ती वामनरूपी विष्णु हुन, विष्णुले तिमीलाई छल्न आएका हुन भनेर शुक्राचार्यले राजा बलिलाई अर्ती दिए । तर राजा बलि वामनरूपी भगवान विष्णुलाई दान दिन्छु भन्ने बचनबाट कटिबद्ध भएका कारण आफ्नो कदमबाट पछि नहट्ने दुढोक्ति गुरु शुक्राचार्यलाई सुनाए ।

वामनरूपी भगवान विष्णुले हे पृथ्वीका दानवीर राजा बलि अब मलाई तिमीले कुन चीजवस्तु दान दिएर सन्तुष्ट पार्छौ भनेर भन्दा राजा बलिले उनको अगाडि शिर झुकाए। परोपकारी र वीर राजा बलिले शिर भुकाएको देखेर वामन देवले प्रशन्न भएर उनलाई पाताल लोकको राजा मात्र बनाएनन् अष्ट चिरिञ्जीवीमध्ये एक चिरञ्जीवीसमेत हुने वरदान दिएका थिए । तब उप्रान्त राजा बलिको बास पाताल लोकमा भएको विश्वास गरिन्छ । राजा बलिले भगवान विष्णुसँग यो पनि वरदान मागे कि प्रभु तपाइँ सालको चार महिना पाताल लोकमा निवास गर्नुपर्छ भनेर पुकार गर्दा भक्तको सल्लाह मानेर उनी वैकुण्ठ छाडेर पाताल लोकमा बस्न राजी भए । त्यसउसले सालको एकपटक हरिशयनी एकादशीका दिनदेखि हरिबोधनी एकादशी चतुर्माससम्म भगवान विष्णु पाताल लोकमा बास गर्नुहुन्छ ।

पाताल लोकमा आफ्ना पतिको बास भएको देखेर भगवान विष्णुलाई बैकुण्ठमा फर्काउनको लागि माता लक्ष्मी गरिब महिला जस्तै बनेर पातालराज बलिसमक्ष गइन् र भाइरूपी राखी बाँधिदिइन् । राजा बलिले राखी बाँधी सकेपछि उपहारस्वरूप तिमीलाई दिने मसँग केही छैन भन्दा राति देवी लक्ष्मीले आफ्नो वास्तविक रूपमा आएर भनिन् कि तपाईसँग व्यक्तिगत रूपमा श्रीहरि छ, म त्यही चाहन्छु। यसपछि राजा बलिले भगवान विष्णुलाई जान दिए । भगवान विष्णुले पाताल लोक त्याग्दा वर्षको चार महिना पाताल लोक बास गर्ने बचन दिएका थिए।

यस्तै अर्को कथा अनुसार भगवान श्रीकृष्णले शिशुपाललाई सुदर्शन चक्रले मार्दा उनको औंला सुदर्शन चक्रबाट रगत बग्न थाल्यो । त्यसपछि द्रौपदीले श्रीकृष्णको औंलामा साडीको टुक्रा बाँधिदिइन् । बदलामा, श्रीकृष्णले कौरवहरूले द्रौपदीलाई चिरहरण गरेपछि उनको लाज बचाएका थिए। यस्तै यमुना र यमराजको कथा पनि छ। यमुनाले मृत्युका देवता यमराजलाई आफ्नो दाजु मानिन् । एकपटक यमुनाले आफ्नो कान्छो भाइ यमराजलाई दीर्घायुको लागि रक्षासूत्र बाँधेकी थिइन् । बदलामा यमराजले यमुनालाई कहिल्यै नमर्ने वरदान दिएका थिए । रक्षाबन्धनको दिन बहिनीलाई राखी बाँध्ने भाइको रक्षा यमराजले गर्ने जनविश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर