पशुपति कोटिहोम स्थलको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं ।  सर्वत्र ठगीको आरोप र लाञ्छना खेपेका पशुपतिपरिसरमा कोटिहोम आयोजक विजय कृष्णमूर्तिलाई सोधपूछ गर्न गएका गौशाला प्रहरी र उनका समर्थकबिच शुक्रबार राति भएको झडपका सम्बन्धमा छानबिन समिति बनाउने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र कोटिहोम आयोजक कृष्णमूर्तिबिच शनिबार छलफल हुँदा घटनाका सम्बन्धमा छानबिन समिति बनाउन दुबै पक्षबिच सहमति भएको हो । कृष्णमूर्तिसँग केही कुरा बुझ्न कोटिहोमको समापनको अन्तिम दिन शुक्रबार राति सादा पोसाकका प्रहरी कोटिहोम स्थल पुग्दा कृष्णमूर्तिका समर्थकहरूले धार्मिक सभामा प्रहरी हस्तक्षेप भएको भनी कडा विरोध गर्दै प्रहरीमाथि हातपात गरेका थिए । उक्त बेला कृष्णमूर्तिले साम्प्रदायिक सदभाव बिथोल्ने उत्तेजक र आपत्तिजनक उग्र अभिव्यक्ति दिएका थिए । त्यसपछि घटना झडपमा परिणत भएको थियो ।

घटनालाई लिएर शनिबार प्रशासन र कृष्णमूर्ति पक्षबिच ३ बुँदे सहमति भएको छ । सहमतिअनुसार घटनाप्रति दुबैपक्षले दुःख प्रकट गर्दै स्थलगत रुपमा बुझी छानबिन गरी सत्य, तथ्य सहितको प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गर्ने, घटनालाई लिएर धार्मिक तथा सामाजिक सदभाव कायम राख्ने र समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने र दोषी उपर कारवाही गर्ने भएको छ । कृष्णमूर्ति पशुपतिपरिसरमा कोटिहोम आयोजनाको सुरुको बखतदेखि नै विवादित बन्दै आएका थिए । कोटिहोम स्थलको चित्र र श्रब्यदृश्य खिच्न जाँदा कृष्णमूर्तिका समर्थकहरूले एक फोटो पत्रकारलाई पनि कुटपिट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर