नाम्चेभन्दा माथिको आवतजावत ठप्प, ९३ जनाको उद्धार

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे खोलामा हिजो शुक्रबार अपराह्न आएको अचानकको बाढीले पर्यटकीय क्षेत्र नाम्चेभन्दा माथिको आवतजावत ठप्प भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा सय–सय मिटर जति पदमार्ग नदीले काटेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे जान समस्या उत्पन्न भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोशीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनले बताए । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोशी हुँदै दूधकोशी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

उनले भने, “थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टीभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गाह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्त लाग्दो छ ।”

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धार गरी आर्मी क्याम्प पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।​

यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौंबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो । निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर