गट्ठाघर दुर्घटनामा परेकी सुष्मा नेपाली जीवितै, घटनामा पुरुष चालक परेको शंका

काठमाडौं । भक्तपुरको गट्ठाघरमा हिजो बिहीबार ट्रकले स्ुकुटरलाई घिसारेर लगेको दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको खुलेको छ । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको जनाएको थियो। घटनामा पुरुष चालक परेको शंका छ । दुर्घटनामा परेको शव यस्तो अवस्थामा थियो महिला हो कि पुरुष तत्काल चिन्न-भन्न सक्ने अवस्थामा थिएन ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार उक्त शवको पहिचान अझै हुन सकेको छैन। एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको उनले बताए। तर पछि सुष्मा नेपाली नै प्रहरीको सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो।

‘शवको सनाखत भएको छैन। अघि घटना भएपछि एक जनाले मेरो बहिनी सुष्मा नेपाली हो भन्दै आएका थिए। कपडा र चप्पलले गर्दा कन्फ्युज भएको होला, हामीले उनलाई सोधपुछ गरिरहेका छौं,’ उनले भने, ‘दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै हाम्रो सम्पर्कमा आएर आफ्नो परिचय खुलाएकी हुन्।’

घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगञ्जस्‍थित शिक्षण अस्पताल लगिएको छ। दुर्घटना भएपछि गट्ठाघर क्षेत्रमा दिनभरजसो तनाव थियो। प्रहरीले सडक छेउमा सवारी चेकिङ गर्ने क्रममा रोकेर बसेको अवस्थामा ट्रकले स्कुटरलाई ठक्कर दिएको र उक्त दुर्घटना प्रहरीका कारण भएको भनी सडकमा उपस्थित सर्वसाधारणले प्रहरी, प्रशासनको विरोधस्वरूप ढुंगामुढा गरेको र प्रहरीले अश्रुग्यास हानेको केही प्रत्यक्षदर्शीहरूले बताएका छन् । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक दुर्घटनापछि फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर