भ्रष्टाचार निवारणसम्बन्धी ऐन समयानुकूल हुनुपर्ने : प्रचण्ड

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारणसम्बन्धी बनेको ऐन समयअनुकूल बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको बताउँदै प्रचण्डले बदलिँदो अवस्थाअनुसार ऐनको संशोधन आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने ‘२०५९ सालमा यो ऐन बनाउँदाखेरीको स्थिति र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा शासन प्रणालीदेखि अर्को शासन प्रणालीमा आइपुगेका छौँ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार पनि संशोधन आवश्यक छ।’

विज्ञान प्रविधिमा भएको नयाँ विकासअनुसार पनि उक्त ऐनमा संशोधन आवश्यक रहेको अध्यक्ष उनले बताए । २०५९ देखि वा यो विधयेक संशोधनका लागि २०७६ सालमा पेश गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकास अनुसार भ्रष्टाचार निर्मुलन गर्नका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको उनको धारणा थियो । त्यसैगरी, भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको उनले बताए ।

प्रचण्डले भने, ‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठीक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ ।’

उनले अगाडि भने, ‘अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिँदैन। अदालतमा मुद्दा दायर हुने बित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्‍याउँछ । त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । मान्छे निलम्बित भयो तर अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिने हामीले यसै ऐनमार्फत सम्बोधन गर्नुपर्छ ।’ हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने प्रचण्डको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर