युवाहरुका लागि उद्यमशीलता विकास गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिए ।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरुले यसका लागि सोच्नुपर्ने बताए । उनले हाल जनसङ्ख्यावृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरु अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट गरे ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरुलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर