हैजा तथा डेंगुलाई महामारीबाट रोक्न सक्रियता

काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेंगुको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र संक्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

आगामी दिनमा थप समस्या आउन नदि केन्द्रीय, प्रदेश, तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी र अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सोसम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ । डेंगु नियन्त्रणका लागि विनियोजित १० करोड रुपैयाँबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको वासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ । प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण तथा निदानमा परिचालन गरेको मन्त्रालयले संघीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेंगी नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ ।

देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगी प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगी परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ ।

डेंगु सङ्क्रमणबाट दुईजनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । जनवरीयता ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सबैभन्दा बढी ५८२ जना सङ्क्रमित छन् । यस्तै देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरमा ३८, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर