साउने सोमबार : १ लाख २५ हजार भक्तजनले पशुपतिनाथको दर्शन गरे

काठमाडौं ।  साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख २५ हजार भक्तजनले मध्यह्नसम्ममा दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयंसेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए । भगवान् शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । थापाका अनुसार आज साउनको अन्तिम सोमबार भएकोले अघिल्ला सोमबारको तुलनामा बढी भक्तजन आएका हुन् ।

“साउनमा पशुपतिनाथमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ,” उनले भने, “आज अन्तिम सोमबार भएकोले बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने र भारतबाट आएका भक्तजनका कारण घुइँचो बढेको हो ।” आज काठमाडौं उपत्यकाका पशुपतिनाथसहित, डोलेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, सुनसरीको पिण्डेश्वर बाबाधाम, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायतका मन्दिरहरुमा महादेवको पूजा आराधना गर्न भक्तजनहरुको भीड लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर