धरानमा हर्क साम्पाङ झुके, महसुल वृद्धि फिर्ता

काठमाडौं । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष मेयर हर्कराज राई साम्पाङले अन्ततः खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता लिएका छन् । धरान उपमहानगरपालिकाका १० राजनीतिक दलको संयुक्त संघर्ष समितिसँग हिजो राति भएको वार्तापछि मेयर साम्पाङले राजी भएका हुन् ।
उनले राजनीतिक दलसँग तीन बुँदे सहमति गरेका छन् । खानेपानी महसुलको पुरानो दर यथावत् राखेर पुनर्विचार गर्ने सहमति जनाए । सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘खानेपानी महसुल वृद्धिबारे खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महसुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’
खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलको मागबारे उच्च अदालतको आदेशपछि निर्णय गर्ने सहमति भएको छ । यस विवादमा उच्च अदालत मुद्दा विचाराधीन छ । यससँगै खानेपानी बोर्डको आय व्यय विवरण सात दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको वार्तामा सहभागी नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले बताए ।
साउन ११ गते धरानमा क्रियाशील राजनीतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएर दलहरूले चरणबद्ध आन्दोलन गरेका थिए । खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलन गर्नुपर्ने स्थिति पैदा भएको थियो । आन्दोलनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर