“कनेक्टिङ कर्णाली” अभियानसँगै डोल्पा जिल्ला झल्कने प्रदर्शनी सुरु

काठमाडौं ।  “कनेक्टिङ कर्णाली” अभियानसँगै डोल्पा जिल्ला झल्कने गरी काठमाडौंमा तस्बिर, भिडियो र डोल्पा जिल्लामा उत्पादित सामग्रीको प्रदर्शनी सुरु भएको छ । शब्द दृश्य र चित्र  उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने दश महिने “कनेक्टिङ कर्णाली” अभियानसँगै डोल्पा जिल्लाको प्रदर्शनी सुरु गरिएको हो ।

 

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीमार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको शब्द, दृश्य र चित्र प्रर्दशनी गरिएको थियो भने साउन महिनामा डोल्पा जिल्ला प्रर्दशन गर्न लागिएको कनेक्टिङ कर्णालीका परिकल्पनाकार एव मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

प्रदर्शनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने गरी ३० वटा तस्बिरका साथै डोल्पा जिल्लालाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादित सामग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश बिलकुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर तिनीहरुको उचित प्रचार प्रसार हुन सकेको छैन , यही कुरालाई मनन गर्दै कार्यक्रम गरिएको अध्यक्ष थापाले बताए ।

प्रदर्शनीमा भरतबन्धु थापाका १८ वटा तस्बिर, टेक शाहीका ४ वटा तस्बिर, जगे बुढाका २ वटा तस्बिर र डा. सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लुडब्लुएफको एक वटा तस्बिर रहेको छ । भिडियोहरु टेक शाही र मनघरी फाउण्डेशनले तयार गरेको आयोजकले जनाएको छ । मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म जारी रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर