एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त

काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ।

आज बुधबार दिउँसो १ः५४ मिनेटमा काठमाडौंबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । “उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रुहरू रहेको विवरण छ,” भुलले भने।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताए। दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जना नेपाली र चार जना चिनियाँ पर्यटक रहेका छन्। नेपाली नागरिकमा क्याप्टेन अरुण मल्ल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सीको मृत्यु भएको छ।

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको एउटा विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा विमानचालक मात्र जोगिएका थिए। गत वर्ष मे महिनामा सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक यात्रुको उद्धारका क्रममा मृत्यु भएको थियो भने सोही वर्ष जुलाईमा सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु भएको थियो। यसअघि सन् २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर