बंगलादेशमा संसद विघटन गर्न अल्टिमेटम

                                                                (विद्यार्थी नेता नाहिद इस्लामलगायत)

काठमाडौं । बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले आज मंगलबार दिउँसो ३ बजेसम्म संसद विघटन गर्न अल्टिमेटम दिएका छन्। आन्दोलनकारीको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले राष्ट्रपति मोहम्मद शाहबुद्दिनलाई दिउँसो तीन बजेभित्र संसद् विघटन गर्न समय दिएका हुन्। त्यसो नभए बुधबार कडा कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ। आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लामले फेसबुकमा भिडियो सन्देश दिँदै उक्त घोषणा गरेका हुन्। सो क्रममा उनीसँगै अन्य संयोजक आसिफ महमुद र अबु बकर मजुमदार पनि थिए।

उनले भने, ‘हामी राष्ट्रिय स्थायित्व र सामाजिक न्याय खोज्छौं। यो प्राप्तिको पहिलो पाइला राष्ट्रिय संसद् विघटन हुनेछ। सबै षड्यन्त्रलाई विफल पार्न सबैजना शान्त र सजग रहनुपर्छ।’ इस्लामले देशमा आगजनी र हिंसाको विरोध गर्दै आन्दोलनलाई हातबाट फुत्कन दिन नहुनेमा आफूहरू स्पष्ट रहेको बताए।

उनले भने, ‘हामी विभिन्न ठाउँमा लुटपाट, हिंसा र साम्प्रदायिक आक्रमण जस्ता लज्जास्पद घटनाहरू देखिरहेका छौँ। हामी स्वतन्त्रताप्रेमी विद्यार्थी र जनतालाई त्यस्ता घटनाहरू रोक्न सतर्क र सक्रिय रहन आह्वान गर्दछौँ, हाम्रो आन्दोलनलाई कसैले कमजोर बनाउन सक्दैन।’ यस्तै विद्यार्थीहरूले सेनाले बनाएको सरकार नमान्ने समेत बताएका छन्। उनीहरूले छिट्टै देशको अन्तरिम सरकारका लागि नाम प्रस्ताव गर्ने समेत उल्लेख गरेका छन्।

नाहिदले अगाडि भने, ‘हामीले अन्तरिम सरकारका लागि मुख्य सल्लाहकारको नाम घोषणा गरेका छौँ। साथै, हामी अन्य सल्लाहकारहरू सहित सरकारको रूपरेखाको साथ तयार छौँ। हामी छिट्टै यो रूपरेखा राष्ट्रसमक्ष प्रस्तुत गर्नेछौँ।’ उनीहरूले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकार बन्न प्रस्ताव गरेका थिए। उनीहरूको प्रस्ताव युनुसले स्वीकार गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर