काठमाडौं उपत्यकामा वर्षाका कारण धेरै सडक जलमग्न

काठमाडौं । काठमाडौं उपत्यकामा हिजो रातिदेखि परेको वर्षाका कारण धेरै सडक जलमग्न भएको छ । काठमाडौंको भद्रकाली, सिंहदरबार, पुतलीसडक, बालाजु क्षेत्र, स्वयम्भू, सीतापाइलालगायत क्षेत्रमा समेत बाढीले सडक अस्तव्यस्त बनेका छन् । ललितपुरको कुपण्डोल, मंगलबजार, जावलाखेल र भित्री सडकहरूमा समेत पानीको भेलले सवारी आवागमन रोकिएको छ । थापाथली पुलको जाम जावलाखेलसम्म पुगेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार वर्षाले काठमाडौं उपत्यकाका अधिकांश सडक अस्तव्यस्त बनेका छन् । सवारी आवागमनमा अवरोध हुँदा ट्राफिक जाम भएको उनले बताए । उनले सवारीसाधनको चापले नभएर वर्षातले कतिपय वैकल्पिक मार्ग (विष्णुमती, बागमती करिडोर) सडक सूचारु हुन नसक्दा मुख्य सडकहरू जाम भएका हुन् ।

त्रिभुवन विमानस्थलमा उडान र अवतरणमा समस्या

रातिदेखिको वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मंगलबार बिहानदेखि विमानस्थलमा उडान र अवतरण प्रभावित भएपछि जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ। इस्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एअर डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एअर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड छन् । सीता एअरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ । दोहाबाट काठमाडौं आइरहेको कतार एअरवेजको जहाज पनि होल्ड भएको छ । त्यस्तै दिल्लीबाट काठमाडौं आइरहेको इन्डिगो एअरको जहाज पनि होल्ड भएको छ ।

३४ जिल्लामा खतराको चेतावनी

देशका अधिकांश भूभागमा सोमबार रातिदेखि वर्षा जारी छ। महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवामोट र दोलखा छन्।

गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छन्। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ। रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। (तस्बिरः सांकेतिक)

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर