बंगलादेशमा सैनिक कू, भारतमा शरण लिँदै शेख हसिना

काठमाडौं ।  प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडेलगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्।

‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं। हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्,’ उनले भनेका छन्।

उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका ढाका ट्रिब्युनले जनाएको छ।

विद्यार्थीको आन्दोलनले तनाव बढेपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएकी हुन्। राजीनामा दिँदै प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिना निजी विमानमार्फत भारत उडेको बताइएको छ।

प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका समाचारहरुमा उल्लेख छ। यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयी भावमा उत्सव मनाएका छन्। बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ।

भारतमा शरण लिँदै शेख हसिना

प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आउँदै छन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणका लागि भारत आउन लागेकी हुन् । बिबिसी बंगलाको रिपोर्टअनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनी शेख रिहानासँगै हेलिकोप्टरमा बङ्गलादेशको राजधानी ढाकाबाट प्रस्थान गरेको रिपोर्टहरूले जनाएका छन् । बङ्गलादेश आर्मी प्रमुख जनरल वाकर उज-जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री निवास गणभवनबाट कुर्सी र सोफा लगे

बंगलादेशमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासबाट कुर्सी र सोफा लगेका छन्। बिबिसीका अनुसार सोमबार दिउँसो प्रधानमन्त्री निवास गणभवनबाट प्रदर्शनकारीहरूले कुर्सी र सोफा उठाएर लगेका हुन्। अहिले ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर