रातो मत्स्येन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै, चार दिनपछि भोटोजात्रा

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मत्स्येन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारीअनुसार ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पुर्‍याइनेछ ।

सातगाउँमा सतुंगल, नैकाप, मच्छेगाउँ, पाँगा, नःगाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा , झाँकीसहित रातो मत्स्येन्द्रनाथको रथ तानिने जानकारी दिए । उनले भने, ‘‘परम्परागत जात्रा , पर्व , धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।” आज दिउँसो ४ बजेपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी सस्थान प्रमुख आचार्यले भने, ‘‘ रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पुर्‍याइएको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’’

गत वैशाख २७ गते बिहीबार रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ । ‘‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुगंमती पुर्‍याउनुपर्ने परम्परा रहिआएको छ । ६ महिनासम्म बुगंमतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुगंमतीमा राख्ने गरिन्छ ’’ आचार्यले भने ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार रातो मत्स्येन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपाताल पोखरीमा माछा छोडिने छ । ‘‘रातो मत्स्येन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पाताल जानकारी दिनुपर्छ, भन्ने किम्बदन्ती छ, सप्तपाताल पोखरीको विनाशसँगै यो प्रचलन रोकिएको थियो, यसपटक हामीले पोखरीको पुनःनिर्माण गरिसकेका छौँ । अब यो परम्परा पुनर्जीवित हुनेछ’’, उनले भने । ललितपुरमा हरेक वर्ष हुने रातो मत्स्येन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर