साउन १५ खीर खाने दिनमा प्रधानमन्त्री ओली स्रष्टा कलाकारसँग

काठमाडौं । आज साउन १५ को खीर खाने दिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतीत गरेका छन् । नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन एक साथीको कृति लोकार्पण पनि गरे ।
प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतका क्रमलाई निरन्तरता दिइएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गरेका थिए । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उनका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउनसक्ने बताए । आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकर रुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाए ।
“पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेँडोभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो,” प्रधानमन्त्री ओलीले भने, “कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरू दायाँबायाँ छन् । एक्लो महसुस गर्नु पर्दैन । हामी साथमा छौँ ।”

उनले समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरे आदिका रचना र गायनहरू सार्थक रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर