ढुक्क हुनुहोस् मेरो नेतृत्वको सरकार दुई वर्ष चल्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लामो समय चल्ने दाबी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार विभागीय मन्त्री तथा सचिवहरुसँग सरकारको काम गर्ने तौरतरिका सम्बन्धमा छलफल गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लामो समय चल्ने हुँदा ढुक्क भएर काम गर्न आग्रह गरे । यसअघि आइतबार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, मन्त्री, सचिवहरूसँग छलफल गरेका थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘मान्छेहरुले हल्ला फिँजाउन सक्छन् । यो सरकार पनि कतिदिन हो र भनेर । छटपटाएका मान्छेहरुले अनेक खालका कुराहरु गर्नसक्छन् । भ्रम छर्नसक्छन् । यो सरकार पनि कतिदिन हो र भन्न सक्छन् । तर, ढुक्क हुनुहोस् मेरो नेतृत्वको सरकार दुई वर्ष चल्छ । त्यसपछि हाम्रै समर्थनमा शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुनेछ । दुई वर्ष पुग्नुभन्दा एक हप्ताअघिनै मैले राजीनामा दिन्छु । यस्मा ढुक्क भए हुन्छ । सरकार कहीँ कतैबाट अप्ठ्यारोमा परेको छैन।”
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।

“एमाले कांग्रेस दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन”, प्रधानमन्त्री ओलीले भने, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहिँ सफल हुँदैन। भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिदैँन। हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो। देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर