कालीगण्डकी करिडोरको सुक्खा पहिरोले पर्वत खण्ड अवरुद्ध

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको उत्तर–दक्षिण जोड्ने पर्वत खण्ड पहिरोले अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै सोमबार बिहान खसेको सुक्खा पहिरोले ५० मिटर सडक पुरिएपछि अवरुद्ध बनेको हो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए ।

भिरको ठूलो भू–भागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उनले बताए । कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुनसकेको छैन ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । पहिरोका कारण बडागाउँ–कैयाको झोलुङ्गे पुल जोखिममा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर