पूर्वराज्यमन्त्री रायको हत्या गर्ने अभियुक्त सार्वजनिक

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रायको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठमा हत्या गरिएको थियो ।

रामचन्द्रको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ । रामचन्द्रको चन्द्रनगर–१ रतनपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले बताए । रामचन्द्रलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेवापत रु दुई लाख र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परी राम उजैनले राय एक्लै हत्या गरेको प्रहरीको भनाइ छ ।रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा छ सदस्यीय अनुसन्धान टोली खटाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर