पाकिस्तानमा भूमि विवादको द्वन्द्वमा ४२ जनाको मृत्यु

काठमाडौं । उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिबिचको भूमि विवादको द्वन्द्वमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् । अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजाति यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिए ।

आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सीमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरहेको जनाएको छ । सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा जानकारी गराए ।

स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४२ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् । पाकिस्तानको मानव अधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पुर्‍याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ । पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच गहिरो असमन्जस्यता कायम रहेको छ । कुर्रम पूर्व आदिवासी क्षेत्रको हिस्सा हो, जुन सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाभिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर