संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमाले र माओवादी केन्द्रबीच टक्कर

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच कुरा नमिल्दा विवाद जस्ताको तस्तै रहेको छ । विधेयकसम्बन्धी उत्पन्न विवाद मिलाउन गठित कार्यदलको आज बिहान बसेको बैठकमा पनि एमाले र माओवादीका नेताबिच आ–आफ्ना अडानमा अडिग रहनाले विवादको अन्त्य हुन नसकेको हो ।

अरू सबै विवाद सहमति उन्मुख रहे पनि मानवअधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ? भन्ने विषयमा एमाले र माओवादीबीच मूलभूत भिन्न मत रहँदै आएको छ । चारवटा विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको कार्यदलले पटक–पटक बैठक बसेता पनि सहमति जुटाउन सकेको छैन ।
एमालेले पीडितको स्वतन्त्र सहमति नभए अदालत जान पाउने गरी कानुनमै प्रष्ट लेखेर जानुपर्ने बताइरहेको छ । माओवादीले पीडितको स्वतन्त्र सहमति नभए उ स्वतः अदालत जाने भएकाले कानुनमा लेखिरहन नपर्ने बताइरहेको छ ।
कार्यदलको बैठक आगामी बिहीबार बस्ने गरी स्थगित गरिएको छ । कार्यदलमा कांग्रेसबाट वर्तमान गठबन्धन सरकारमा गृहमन्त्री रहेका रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर